तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनाका लागि दूध आयात खुल्ला

काठमाडौँ । सरकारले चाडबाडको समयमा बढी खपत हुने तथा माग अनुसारको दूध उत्पादन नभएकोले एक महिनाका लागि दूध आयात खुल्ला गरेको छ ।

अर्थ मन्त्रालयको सहमतिमा कृषि मन्त्रालयले असोज २ गते देखि लागू हुने गरी एक महिनाको अवधिका लागि १ लाख २० हजार लिटर दूध आयात गर्न स्वीकृति प्रदान गरेको हो ।

file photo

निर्णय लगत्तै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध किन्ने प्रक्रिया अघि बढाएको छ ।

२ असोजको निर्णय अनुसार दैनिक एक लाख २० हजार लिटरसम्म दूध आयात गर्ने पाउने गरी अर्थ मन्त्रालयको सहमतिमा निर्णय गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताउनुभयो ।

अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दूध आयात गर्न अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई स्वीकृति दिएको विषय आफूलाई जानकारी नभएको बताउनुभयो ।

आयातित दूधमध्ये ४० प्रतिशत दूध डीडीसीले आफ्ना उत्पादनका लागि प्रयोग गर्ने र अन्य ६० प्रतिशत दूध निजी क्षेत्रका डेरीहरू मार्फत बिक्री वितरण गरिने भएको छ ।

नेपालमा हाल दैनिक ७० लाख लिटर दूधको माग रहेकोमा उत्पादन भने ६७ लाख लिटर मात्र हुने गरेको कृषि मन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा ३ लाख लिटर दूधको कमी हुनु तथा चाडबाडको समयमा उच्च खपत समेत हुने भएकोले दुग्धजन्य पदार्थमा मूल्य वृद्धि हुन नदिन र उपभोक्तालाई पनि माग अनुसार दूध उपलब्ध गराउन मन्त्रालयले दूधको आयात गर्ने निर्णय गरेको कृषि मन्त्रालयका प्रवक्ता सन्जेलले बताउनुभयो ।

दूध उत्पादक सहकारीहरूको छाता सङ्गठन केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दूध आयात गर्ने निर्णय तत्काल फिर्ता लिन र किसानको अवस्थाबारे गम्भीर हुन विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button