भजनीका ४ हजार परिवार बाढी पीडित घर फर्के, ३ हजार अझैँ बाँकी
टीकापुर कैलाली । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् ।
डुबानमा परेका घरहरूमा पानी सुक्दै गएपछि बाढी पीडितहरू घर फर्कन थालेका हुन् ।
बाढीका कारण भजनीमा ७ हजार ९६ परिवार विस्थापित भएका मध्ये ४ हजार परिवार एक सातापछि घर फर्किएका छन् । अझैँ ३ हजार बढी परिवार घर फर्कन सकेका छैन ।
भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि आज घर फर्किएको छ । घर फर्के पनि घरका अन्नपात, लुगाकपडा सबै नष्ट भएकाले उहाँको परिवार राहत पाएमा खाउला भन्ने आशामा बसेको छ ।
भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फर्किएको छ । उहाँको परिवार घर फर्कँदा घरका भित्ता भत्किएका, अन्न राख्ने माटोका डेहरी समेत फुटेका छन् । वडा नं. ८ का वडा सदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले बिचल्ली बनाएको छ । उहाँ पनि एक साता हुलाकी सडकमा बसेर घर फर्कनुभएको छ ।
भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ ।
नगरपालिकाले प्रभावित स्थानमै गएर लागत सङ्कलन कार्य थालेको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्