तपाईँ सुन्दै हुनुहुन्छः

चिडियाखाना निर्माणले मधेश प्रदेशकै पर्यटन प्रवद्र्धनका सहयोग पुग्छ : मन्त्री यादव 

बीरगंज । बन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगञ्जमा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले मधेश प्रदेशकै पर्यटन प्रवद्र्धनका साथै समृद्धि र विकासमा टेवा पुग्ने दाबी गर्नुभएको छ । 

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३२ रामवनमा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाको आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुहुँदै मन्त्री यादवले पर्सा जिल्ला तथा मधेश प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन चिडियाखानाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

उहाँले बीरगंजमा पर्यटकीयस्थल नभएको कारण आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाउने र देखाउने ठाउँ केही नहुँदा स्थानीय निरास भएको बेला यस क्षेत्रकै समृद्धि र विकासलाई टेवा पुग्ने गरी पर्यावरण मैत्री पर्यटकीय स्थलको रुपमा पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गर्न लागिएको बताउनुभयो ।

मन्त्री यादवले आफू मन्त्री बनेदेखि पर्सामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर त्यो काम सफल भएको बताउनुभयो । 

पर्सावासीको आर्य स्तर वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौँ देखिको सपना साकार भएको समेत मन्त्री यादवले दाबी गर्नुभयो । 

वन मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले पहिलो चरणमा प्राकृतिक चिडियाखाना स्थापनाका लागि तारबार लगाउन अर्थ मन्त्रालयले १० करोड रुपैयाँ उपलब्ध गराउने सहमति दिइसकेको खुलासा गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहा निर्देशक अजय कार्कीले एक अर्ब एक करोड सात लाख रुपैयाँको लागतमा चिडियाखाना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँले वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ को सोलखपुर वडा नं. ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । 

चिडियाखानाको क्षेत्रफलभित्र पर्ने तीन दशमलव एक हेक्टर क्षेत्रफलको अतिक्रमण हटाइ त्यस क्षेत्रसँग जोडिएको सबैया साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरिने भएको छ । 

खुल्ला प्राकृतिक चिडियाखानामा बाघ, चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल लगायतका वन्यजन्तुका साथै अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने गरेकाले यस ठाउँमा चिडियाखाना बनाउन उपयुक्त हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button