तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा ७० प्रतिशत भन्दा बढी उजुरी छानविन गरी फर्छ्यौट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा आयोगमा परेका ७० प्रतिशत भन्दा बढी उजुरीउपर छानविन गरी फर्छ्यौट समेत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेपछि आयोगले आज केन्द्रीय कार्यालय टंगालमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगमा गत वर्ष कूल उजुरीको सङ्ख्या २४ हजार ३ सय ३१ रहेकोमा १७ हजार १ सय ६९ वटा फर्छ्यौट भएको बताउनुभयो ।

प्रवक्ता भण्डारीले आयोगले सो अवधिमा १ सय ३१ वटा उजुरीउपर छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेको ८० वटामा सुझाव दिएको र ६ सय ३७ वटा मुद्दा तामेलीमा राखेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आयोगको प्रतिवेदन अनुसार सबै भन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी संघीय मामिला मन्त्रालय तथा स्थानीय तह समेतको भएको र यो कूल उजुरीको ३३ प्रतिशत भन्दा बढी रहेको छ ।

स्थानीय तहहरूमा कतिपय अवस्थामा राजनैतिक आग्रह–पूर्वाग्रहका कारण दुःख दिने नियतले पनि केही उजुरीहरू पर्ने गरेका कारण स्थानीय तहको प्रतिशत बढी देखिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले शिक्षा मन्त्रालय र स्थानीय तहमा रहेका सो मन्त्रालय मातहतका निकायहरूको समेत गरी कुल उजुरीको १५ प्रतिशत भन्दा बढी उजुरी देखिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button