तपाईँ सुन्दै हुनुहुन्छः

‘साना, मझौला र लघु उद्यमहरूको प्रवर्द्धन आवश्यक’

काठमाडौँ । दिगो आर्थिक वृद्धिका लागि स्वदेशी उत्पादनमा वृद्धि गर्न, श्रोत परिचालन गरेर साना मझौला र लघु उद्यमहरूको प्रवर्द्धन गर्न आवश्यक रहेकोमा त्यस क्षेत्रका विज्ञहरूले जोड दिनुभएको छ ।

नेपाल आर्थिक संघ र बैङ्क तथा वित्तीय संस्था परिसंघले विश्व बैङ्कसँगको सहकार्यमा आयोजित अन्तरक्रियामा बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

छलफलमा नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको अनपेगिङ गर्दा हुने फाइदा र बेफाइदा, वित्तीय घाटा उच्च हुँदै गइरहेको तथा अन्य उदयमान चुनौतीहरूको सामना गर्न कठिन हुँदा निम्ताउने सङ्कटका लगायतका विषयमा गम्भीर छलफल भएको थियो ।

कार्यक्रममा बैङ्क तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैङ्क तथा वित्तीय संस्था मार्फत उपलब्ध गराउने हो भने यसले साँच्चिकै तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यावसायिक वातावरणमा सुधार हुने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले व्यापार घाटा, कृषि क्षेत्रको वृद्धि, सामाजिक सुरक्षा सञ्जाल, वित्तीय घाटा लगायतका समस्याहरूको बारेमा चर्चा गर्नुभएको थियो ।

विश्व बैङ्कका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले दक्षिण एसियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्ने, विश्व स्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button