तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचित गाउँपालिका उपाध्यक्ष सहित सोलुका २० उम्मेदवार कारबाहीमा

सोलुखुम्बु । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित सोलुखुम्बुको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका २० उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा परेका छन् । पटक पटक सूचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले जिल्लाका २० उम्मेदवारलाई साढे तीन लाख रुपैयाँको दरले जरिवाना गरेको छ ।

कारबाही पर्नेमा नेपाली काँग्रेसबाट खुम्बुमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका चुङबा शेर्पा र निर्मला थापा मगर, काँग्रेसकै माप्य दूधकोशीमा पालिका अध्यक्षको उम्मेदवार बनेका चन्द्रबहादुर राई, माप्य दूधकोशीमै अध्यक्षका स्वतन्त्र उम्मेदवार ढलबहादुर मगर, अध्यक्षकै उम्मेदवार बनेका मङ्गोल नेश्नल अर्गनाइजेशनका रुद्रबहादुर रानामगर, माप्यमै नेकपा एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी जुनितामाया मगर आयोगको कारबाहीमा पर्नुभएको हो ।

त्यस्तै, थुलुङ दूधकोशीमा पालिका अध्यक्षका उम्मेदवार मनकुमार गुरुङ, नेचासल्यानमा पालिका अध्यक्षका उम्मेदवार हेमन्त राई, भवनाथ शर्मा ढुङ्गेल, उपाध्यक्षका उम्मेदवार डिल्लीबहादुर राई र लाकी शेर्पालाई पनि आयोगले कारबाहीको सूचीमा राखेको छ ।

महाकुलुङमा पालिका अध्यक्षका उम्मेदवार सागर किराँती, उपाध्यक्षका उम्मेदवार छविमाया कुलुङ, उपाध्यक्ष जित्नुभएकी विपना कुलुङ पनि निर्वाचन आयोगको कारबाहीमा पर्नुभएको छ । 

लिखुपिके गाउँपालिकाबाट पालिका अध्यक्षको उम्मेदवार डम्बरबहादुर बस्नेत, उपाध्यक्षको उम्मेदवार प्रमिला बस्नेत कार्की, अध्यक्षका उम्मेदवार सुष्मा लामा शेर्पा र विजय बस्नेत आयोगको कारबाहीमा पर्नुभएको छ भने सोताङ गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार दिपक खड्का, उपाध्यक्षका उम्मेदवार सरस्वती राई (नाछिरिङ) र उपाध्यक्षका उम्मेदवार नन्दराज नाछिरिङले पनि जरिवाना बापतको तीन लाख ५० हजार रुपैयाँ आयोगलाई बुझाउनुपर्ने भएको छ ।

स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ । समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले जनही तीन लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button