तपाईँ सुन्दै हुनुहुन्छः

कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि वार्षिक कार्यक्रम सार्वजनिक

रुपन्देही । रुपन्देहीमा कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि २१ करोड २ लाख २२ हजार बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भैरहवामा कार्यक्रम आयोजना गरि वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जसमा विज्ञ केन्द्रको ११ करोड १३ लाख ८५ हजार हो भने ज्ञान केन्द्रको बजेट ९ करोड ८८ लाख ३७ हजार रहेको छ । प्रदेशले बजेट सार्वजनिक समयमै गरे पनि कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनेर स्वीकृत हुन समय लागेकाले मातहतका कार्यालयहरूले बल्ल कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

आवश्यकता, माग, विशेष बाली वस्तु प्रवर्द्धन र प्रतिफलमा आधारित भएर बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार, कृषि तथा पशुपन्छीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले जानकारी दिनुभयो । आवश्यकताका आधारमा कार्यक्रम गर्दा अधिकतक सीमा ५० हजार राखिएको छ । पशुपन्छी तर्फ मागका आधारमा २ लाख र बाली वस्तु प्रवद्र्धनमा अधिकतम सीमा ५ लाख राखिएको छ ।

अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुर्‍याउन स्थानीय सहकारसँग समन्वय गरेर कार्य अघि बढेको अधिकारीहरूको भनाई छ । सूचना प्रकाशन त्यसपछि आउने प्रस्तावको स्थलगत अनुगमन, छनौट र अनुदान ग्राहीसँग सम्झौता गर्न अझै कम्तीमा १ महिना समय लाग्छ । मौसमी खेती गर्ने किसानलाई मध्यनजर गरेर समयमै कार्यक्रमहरू कार्यान्वयनमा ल्याउन जिल्ला समन्वय प्रमुख उमाकान्त चापागाईँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button