औद्योगिक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बैङ्क तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानीको अभावमा समस्यामा पर्न नहुने बताउनुभयो ।
अर्थमन्त्री शर्माले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिँदै ग्रामीण अर्थतन्त्रको विकास नगरिकन मुलुक आर्थिक रुपमा सबल बन्न नसक्ने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री शर्माले हालको नीतिले बैङ्क तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिए पनि त्यसैबाट घर जग्गामा समेत लगानी हुने अवस्था देखिएको भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।
आयात प्रतिस्थापन गर्न उत्पादन वृद्धिको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको शर्माको भनाइ छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएको लामो समय भए पनि प्रभावकारी नीति, कार्यक्रम र योजना बनाउन नसकेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा कोषका अध्यक्ष समेत रहनुभएका राजस्व सचिव रामेश्वर दङ्गालले कोषलाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्