बाँकी जीवन विकास र समृद्धिमा खर्चिने छु: अध्यक्ष दाहाल
सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभएको छ ।

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शैयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहु प्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले जनतालाई अधिकार सम्पन्न बनाउन तल्लो तहलाई अझ अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।

दुधकोशी सामुदायिक अस्पताल १५ करोड रुपियाँ, बहु प्राविधिक शिक्षालय पाँच करोड रुपियाँ र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
सुविधा सम्पन्न अस्पताल जनताबाट चन्दा उठाएर बनाएको भन्दै अध्यक्ष राईले महायज्ञ लगाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएको बताउनुभयो । पछिल्लो समय आस्था, जाति र लिङ्गको आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक संरचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, प्रदेश १ मा पूर्व राज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो । सो अवसरमा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङ लगायतलाई सम्मान गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्