महाकाली नदीमा पक्की पुल शिलान्यास

दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमा अन्तर्राष्ट्रिय मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । नेपाल तर्फ दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो । नेपालतर्फ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गर्नुभएको हो ।
नेपालतर्फ पुलको शिलान्यास गर्नुहुँदै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउनुभएको छ । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । मन्त्री बडूले भन्नुभयो, दार्चुलामा पुल बनेसँगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने छ ।

पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने हुनेछ । मन्त्री बडूले थपे, २०४८ साल देखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रक्रिया अगाडि बढेको छ । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको विश्वास छ ।
यसअघि पटक पटक महाकालीमा नेपाल–भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रक्रिया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । पुल निर्माणको विषयमा पटक पटक दुई देशबिच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पछिल्लो समय गत महिना मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ ।

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने भारतीय राजदूतावासका डेपुटी चिफ अफ् मिसन प्रशान्त श्रीवास्तावले बताउनुभएको छ ।
यो पुल दुई देशका बीच व्यापार, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षको श्रीवृद्धिका लागि एक ऐतिहासिक फड्को भएको प्रतिक्रिया भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले दिएको भारतको धाचुला क्षेत्रका विधायक हरीश धामीले बताए । हाम्रो बिच सदीऔं देखी रोटी बेटीको सम्बन्ध छ यो पुल त्यसकै प्रतिपल रहेको उहाँले बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०७१ असोजमा पहिलो नेपाल भ्रमणका बेलादेखि सुरु भएको यो पहलले सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको भारत भ्रमणको बेला (२०७३ भदौ ३०–असोज ४) यसले मूर्त रूप लिएर निर्माण सुरु भएको हो ।

हाल दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सात वटा झोलुङ्गे पुलहरू सञ्चालनमा रहेका छन् । दुई वटा पुलहरू निर्माणाधीन अवस्थामा रहेका छन् भने थप केही पुलहरू निर्माणका लागि पहल समेत भइरहेको भएपनि मोटरेबल पुल नहुँदा कनेक्टिभिटीमा कतिपय समस्याहरू कायमै रहेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भएको छ ।
मोटरेबल पुल नभएको कारणले भारतसँगको कनेक्टिभिटीमा केही कमी महसुस भइरहेको छ, प्रजिअ उपाध्यायले भन्नुभयो, विशेषगरी दार्चुला जिल्ला अस्पतालबाट रेफर भएका बिरामीहरूलाई पिथौरागढ लैजाने प्रवृत्ति देखिएको छ । मोटर पुल भए सहज रुपमा त्यहाँ गएर उपचार गर्न सम्भव हुन्थ्यो । त्यसैगरी दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउन समेत पुल महतपूर्ण हुने छ ।
भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको वैदिक समेत पूजा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्