धितोपत्र बोर्डद्वारा लाइसेन्सका लागि प्रस्ताव आव्हान
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकै पटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आव्हान गरेको छ ।
सरकारले विनियमावली पारित गरे लगत्तै नेपाल धितोपत्र बोर्डले तीन वटा क्षेत्रका लागि लाइसेन्सका लागि आवेदन खुलाएको हो । अहिले नेपाली बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मात्र सञ्चालनमा छ ।

बोर्डले थप एउटा स्टक एक्सचेञ्ज थप्न दिने निर्णय अनुसार सूचना जारी गरेको हो । बोर्डले धितोपत्र बजारलाई थप प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रिय स्तरको प्रविधि सहितको बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यसहित धितोपत्र बजार सञ्चालकको लाइसेन्सका लागि प्रस्ताव आव्हान गरेको हो ।
बोर्डले नेपालमा पहिलो पटक कमोडिटी एक्सचेञ्ज खोल्ने गरी प्रस्ताव समेत आव्हान गरेको छ । वस्तु विनियम बजार सञ्चालनका लागि बोर्डले इच्छुकसँग आवेदन माग गरेको छ ।
बोर्डले अहिलेलाई दुई वटा कम्पनी खोल्न दिनेछ । त्यसका लागि इच्छुकहरूले ४५ दिनभित्र आवेदन दिइसक्नु पर्छ । कमोडिटी एक्सचेञ्जका लागि पनि बोर्डमा आधा दर्जन कम्पनीले पहिला नै आवेदन दिएका छन् ।
त्यसैगरी बोर्डले सेयर ब्रोकर पनि थप्ने भएको छ । बोर्डले सेयर ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन भनेको छ । अहिले नेप्से अन्तर्गत ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्