तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र विश्व बैंकबीच ५२ अर्ब ९६ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता 

काठमाडौँ । नेपाल र विश्व बैंकबीच ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा आज  हस्ताक्षर भएको छ । 

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालको क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) र डिजिटल नेपाल गति वृद्धि (डीएनए)का लागि विश्व बैङ्क र नेपाल सरकारबीच सहुलियतपूर्ण ऋण सम्झौतामा  हस्ताक्षर भएको हो । 

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा  नेपाल सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र विश्व बैङ्कका तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलङ्काका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार विश्व बैंकले एक्सेसका लागि ३४ अर्ब ९६ करोड (२७ करोड ५० लाख अमेरिकी डलर)बराबर र डिएनएका लागि १८ अर्ब (१४ करोड अमेरिकी डलर)बराबर सहुलियतपूर्ण ऋण दिनेछ ।

सम्झौतामा हस्ताक्षरपछि अर्थ सचिव पुष्करले आयोजनाहरूले नेपालको आर्थिक सम्भावनाहरू उजागर गर्न सहयोग गर्ने बताउनुभयो ।

“समावेशी रूपमा आर्थिक–सामाजिक विकासलाई सघाउन सुदृढ आबद्धता तथा व्यापार, सेवाग्राही र व्यवसायीबीच सूचना प्रविधिमार्फत सम्पर्क तथा क्षेत्रीय बजारहरूमा पहुँच आदिका माध्यमबाट नेपालको आर्थिक सम्भावनाहरू उजागर गर्न नेपाललाई यी आयोजनाहरूले सहयोग गर्नेछन्”, उहाँले भन्नुभयो ।

यसैगरी विश्व बैङ्कका राष्ट्रिय निर्देशक जर्भोसले नवीन डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउँदै नेपालमा क्षेत्रीय एकीकरण र डिजिटल रूपान्तरणलाई सहयोग गर्न विश्व बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो ।

एक्सेसअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ । सडकको दूरी ६९ किलोमिटर रहेको छ । यसले भारतको पश्चिमी बन्दरगाहसम्म पहुँच अभिवृद्धिका साथै यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । 

त्यस्तै डीएनए आयोजनाले सरकारले २०७६ सालमा घोषणा गरेको डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सघाउनेछ । यसले उच्च गुणस्तरीय इन्टरनेट सेवा ग्रामीण क्षेत्रमा समेत पु¥याउन मद्दत गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button