अछाममा पहिरोमा परेर घाइते भएका र प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएकाहरू, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिनुभएको छ । उहाँले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउँ धनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखि पठाउन निर्देशन दिनुभएको छ ।
अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म नौ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीघाटमा गएको पहिरोमा परि ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जानकारी आएको उहाँले बताउनु भयो ।
त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उहाँले बताउनु भयो । त्यस्तै ढकारी गाउँपालिकामा १ घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको जानकारी उहाँले दिनुभयो । तुर्माखाद गाउँपालिकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्