तपाईँ सुन्दै हुनुहुन्छः

दसैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि

काठमाडौँ । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

file photo

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शनिबार बिहानदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ने जानकारी दिनुभयो ।

यही भदौ २२ गतेको बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड–१९ महामारीलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको थियो । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैँका लागि आवश्यक सवारी साधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो । नयाँ बसपार्कले सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुल्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारी साधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button