तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमा हात्ती संरक्षणबारे सचेतना अभिवृद्धि गर्न विज्ञको जोड

काठमाडौँ । पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गर्दा हात्ती संरक्षणको सचेतनालाई पनि सँगै लैजानुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिएका छन् ।

थाइल्यान्डकी हात्ती संरक्षणविद् तथा सेभ द एलिफेन्ट फाउन्डेसनकी संस्थापक साङ्दुएन लेक चाइलर्टले पर्यटन प्रवर्द्धनसँगै वन्यजन्तु संरक्षण र पर्यावरण जोगाउनेबारे आवश्यक सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । हात्ती संरक्षणका क्षेत्रमा भएको कार्यको बारेमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा आज आयोजित छलफलमा संरक्षणविद् चाइलर्टले पर्यटनमा हात्तीको प्रयोग, यसबाट उनीहरूमा पर्न जाने असर तथा त्यसको संरक्षणसहित कसरी पर्यटनलाई अगाडि बढाउन सकिन्छ भन्ने बारेमा आफ्नो अनुभव सुनाउनुभएको थियो ।

चाइलर्टले दक्षिण एसियामा हात्तीहरूको जीवन सुधार गर्न र तिनीहरूको कल्याणलाई अगाडि बढाउन दुई दशकभन्दा बढी समयदेखि काम गरिरहेकाले संरक्षणवादीका रूपमा विभिन्न सम्मान प्राप्त गर्नुभएको छ । उहाँले नेपालमा पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उल्लेख गर्दै पर्यटन बोर्डको माध्यमबाट हात्तीको प्रयोगका विषयमा जनचेतना अभिवृद्धि र हात्तीको प्रयोगलाई निरुत्साहित गर्न आग्रह गर्नुभयो ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले चाइलर्टले संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै उहाँको अनुभवबाट नेपालले पनि धेरै सिक्न सक्ने बताउनुभयो । निर्देशक थापाले नेपाल नेचर, कल्चर तथा एडभेन्चरमा आधारित पर्यटकीय गन्तव्य भएको र नेपालमा पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उल्लेख गर्दै संरक्षणसहितको पर्यटनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गर्दै अगाडि बढ्न सकिने बताउनुभयो ।

बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले चाइलर्टको अनुभवबाट संरक्षणवादी पर्यटनमा धेरै कुरा सिक्न सकिने उल्लेख गर्दै उहाँको संस्थासँग सहकार्य गर्दै संरक्षण पर्यटनलाई जोड दिन सकिने धारणा राख्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button