कुनै पनि देशले दिने माग जस्ताको त्यस्तै स्वीकृत नगर्न मन्त्री कुँवरको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने माग जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गर्नुभएको छ ।
बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्नुहुँदै मन्त्री कुँवरले माग आयो भन्दैमा राम्रोसँग नबुझी स्वीकृत नदिन आग्रह गर्नुभएको हो ।
मन्त्री कुँवरले माग ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । कसैको दबाब र धम्कीको आधारमा माग स्वीकृत नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
डर, धम्की दिने व्यवसायीहरूसँग आफूले कुराकानी गर्ने भन्नुहुँदै मन्त्री कुँवरले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिनुभयो ।

उहाँले श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा बेला बेला अनुगमन गरेर काम गर्न पनि अनुरोध गर्नुभएको छ ।
नौ वटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरलाई आफूले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिहरूको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरूलाई दूतावासले गरिरहेको सहयोग लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
उहाँहरूले नेपालीहरू काम गर्नभन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण समस्यामा पर्ने गरेको मन्त्री कुँवरलाई जानकारी गराउनुभयो । भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उहाँहरूले आग्रह गर्नुभयो ।
उहाँहरूले सिप सिकेका मात्रै कामदारलाई विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने पनि माग राख्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्