जुम्लीलाई अझै ‘नुनकै चिन्ता’

जुम्ला । राजनीतिक अस्थिरता र मूल्यवृद्धिको प्रभावले जुम्लामा नुनको चरम अभाव देखिएको छ । गत भदौ २६ गते साल्ट टेड्रिङ उपशाखा जुम्लामा नुन लिनेको बाक्लो भिड थियो । नुनका लागि एकै दिन झण्डै एक हजार बढी नागरिक लाइनमा बसेको त्यो भिडले डेढ दशक पहिलाको जुम्लाको परिस्थितिलाई झल्काएको थियो । जति बेला जुम्लामा एक पोका नुन र एक किलो चामलका लागि नेताको पाउ मोल्नु पर्ने, प्रहरीको लाठ्ठी खानु सहनु पर्ने र हप्तादिन सम्म लाइन बस्नु पर्ने बाध्यता थियो ।
डेढ दशक पहिले कर्णालीको खाद्यान्न र नुनमा समेत चरम राजनीति हुन्थ्यो । अझ नुन र चामलका लागि समेत अनिवार्य पार्टीकै कार्यकर्ता बन्नु पर्थ्यो । कर्णाली राजमार्गको स्तरबृद्धि यता कर्णालीमा नुन चामलको राजनीति अन्त्य सँगै नागरिकले सुविधा महसुस गरेको केही वर्ष नबित्दै फेरी कर्णालीको दुर्गम जिल्ला जुम्लामा नुनको पिरलो हुन थालेको छ ।
भदौ २६ गते नुनका लागि निकै तँछाडमछाड सम्म भयो । तर कति नागरिक त नुन नपाएर रित्तै फर्किए । जुम्लावासीलाई अहिले नुन पाउनु भन्दा सुन पाउनु सहज जस्तै छ । पातारासी ६ का तारा बोहोरा भन्छन्,“भदौ २६ गते दिनभरी एक पोका नुनका लागि युद्ध लड्नु पर्यो । तर साँझ रित्तै फर्कियौ । बजारमा २५ देखि ३० रुपैयाँमा प्रतिप्याकेट नुन पाइन्थ्यो । अहिले त्यो पनि पाईदैन् । यता कार्यालयले नुन छैन भन्दै फर्काउने गरेको छ । महान् चाड दशै तिहार नजिकिँदै गर्दा जुम्लामा नुनको चरम अभाव भएको छ ।”
जिसस उपप्रमुख जनक थकाली भन्छन्,“सङ्घीयतापछि पनि जुम्लाले नुनकै अभाव खेप्नु पर्ने अवस्थालाई राज्यले नजर अन्दाज गरेको छ । नेपालको संविधानले हरेक नागरिकलाई गाँस बास र कपासको ग्यारेन्टी गरेर घरघरमा सिंहदरबार आएपनि जुम्लीलाई अझै नुनकै पिरलो छ ।” जुम्लामा नुन वितरण हुन छोडेको एक हप्ता बढी भयो । तर नागरिक दिनहुँ नुन ल्याउन गएपनि नागरिक रित्तै फर्किने गरेका छन् ।
ढुवानी नहुँदा नुनको अभाव
गत आ.व.२०७८/७९ मा जुम्लाका लागि स्वीकृत वार्षिक कोटा ३ हजार क्वीइन्टल कोटा थियो । सबै ढुवानी भएर विक्री समेत भयो । साल्ट टेड्रिङ उपशाखा जुम्लाका प्रमुख खगेन्द्र बहादुर मल्लले भन्नुभयो,“जुम्लामा नुन अभाव भएपछि गत आवमै थप ३५ सय क्वीईन्टल कोटा माग गरिएकोमा २३ सय कोटा स्वीकृत भएको थियो । सरकारले इन्धनको मूल्य वृद्धि गर्यो । तर ढुवानी दररेटमा वृद्धि नगर्दा स्वीकृत भएको थप २३ सय क्वीइन्टल कोटा नुन ढुवानी नहुँदा जुम्लामा नुनको अभाव भएको हो ।”
ठेकेदारले घाटा खाएर नुनको ढुवानी गर्ने स्थिति नभएपछि जुम्लामा नुन अभाव भएको हो । हाल साल्ट टेड्रिङ उपशाखा जुम्लामा १५ देखि २० क्वीइन्टल मात्रै नुन विपद्का लागि मौज्दात छ । नराकोट, धाँपा डिपो र विक्री केन्द्र गोरुचौर डिपोमा समेत नुन अभाव छ ।
चालु आवका लागि २५ सय क्वीईन्ट कोटा स्वीकृत भई पहिलो चरणमा ३ सय ४० क्वीईन्टल नुन कामना ढुवानी सेवाले जुम्लामा ल्याउन थालेको छ । चालु आवको ३४० क्वीईन्टल नुन जुम्ला नपुगे सम्म नुन वितरण गर्ने अवस्था समेत छैन । नराकोटमा ७ सय क्वीईन्टल, गोरुचौर कनकासुन्दरीमा १ हजार क्वीइन्टल नुन आउने भएको छ ।
भिडले नुनको माग बढेको देखाएपनि बढी लिएर स्टक गर्ने प्रवृत्ति छ । भदौ २६ गते झण्डै १२ सय जनाको उपस्थिति थियो । सबैलाई ५ प्याकेटका दरले नुन बाँडिएको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी जुम्लामा नुन ल्याउनका लागि पहल भइरहेको र दशैमा नुन चामल अभाव नहुने बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्