तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा प्रदर्शनी कक्ष निर्माण 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको उद्घाटन गर्नुभएको छ । 

राष्ट्रिय सङ्ग्रहालयको दक्षिणपट्टि रहेको पुल घरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रदर्शनी कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत मुद्रा सङ्ग्रहालय पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताउनुभयो । 

देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्त्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै उहाँले नेपालको इतिहास दर्साउने मुद्राहरूको सङ्कलन गरी सङ्ग्रहालयको रुपमा विकास गरिनु महत्त्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।

नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत सङ्ग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ । 

मुलुकको इतिहास सङ्ग्रहालयमा देखिने भएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले सङ्ग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताउनुभयो । 

सङ्ग्रहालयमा सङ्कलित मुद्राहरूलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको छ । 

नेपालको अत्यन्त दुर्लभ मानिने ईसा पूर्व पाँचौँ शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरू सङ्ग्रहालयमा राखिएको छ । सङ्ग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरहरूको माला तथा औँठीहरू पनि प्रदर्शनमा राखिएको छ । 

छाला तथा माटोका मुद्राहरू सङ्ग्रहालयको आकर्षणको रुपमा रहेको छ । सङ्ग्रहालयमा राखिएका मुद्राहरू सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियम आदी धातुबाट बनेका छन् । 

सङ्ग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा सानो मुद्राको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत सूचीकृत भएको राष्ट्रिय मुद्रा सङ्ग्रहालय प्रमुख प्रतिमा रञ्जितले बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय मुद्रा सङ्ग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहास सम्बन्धी पुस्तक मन्त्री श्रेष्ठले विमोचन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button