तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि विद्यालय बन्द 

सल्यान । विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयका ११ विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएपछि ९८ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा ११ विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक गुमानसिहं विष्टले जानकारी दिनु भयो । संक्रमित सबै विद्यार्थीहरूको अवस्था सामान्य रहेको उहाँको भनाई छ । 

परीक्षा सञ्चालन भइरहेको समयमा विद्यार्थीमा कोरोना पुष्टि भएपछि सम्पूर्ण परीक्षा स्थगित गरिएको उहाँको भनाई छ । अन्य विद्यार्थीहरूमा पनि कोरोना संक्रमण नफैलियोस् भनेर पाँच दिनका लागि विद्यालय बन्द गरिएको विष्टले बताउनु भयो । 

केही समय अघि बनगाड कुपिण्डे नगरपालिका १२ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका २९ र त्रिवेणी गाउँपालिका ५ सिम्क स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना पोजेटिभ देखिएको थियो । 

गाउँघरमा कोरोनाको लक्षणसँग मिल्ने धेरै बिरामी भएपनि पछिल्लो समय कोरोनालाई सामान्य रोगका रुपमा लिन थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button