तपाईँ सुन्दै हुनुहुन्छः

सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

गोरखा । गोरखामा अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप २०७९’ पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको विजेताले रु एक लाख ३० हजार राशिको पुरस्कार प्राप्त गर्नेछ ।

file photo

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाका १२ टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नीराजन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो हुने टिमलाई रु ७० हजार, तेस्रोलाई रु ३५ हजार र चौथोलाई रु १५ हजारसहित मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।

त्यस्तै प्रतियोगिताअन्तर्गत महिलातर्फको खुला भलिबल प्रतियोगितासमेत हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । महिला खुला भलिबल प्रतियोगितामा पनि १२ टिमको सहभागिता रहने समितिले जनाएको छ । महिला खुला भलिबलतर्फ प्रथम हुनेले रु ७० हजार, दोस्रो हुनेले रु ४० हजार र तेस्रो हुनेले रु २० हजार तथा चौथो स्थान प्राप्त गर्नेले रु १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै सोही अवसरमा ३५ वर्षमाथिका भेटेरान्स पुरुष भलिबल प्रतियोगिता पनि हुने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख ३२ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button