प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लगानीले धनुषामा कृषि क्षेत्रले फड्को मार्दै
जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाले गत आर्थिक वर्षमा गरेको राम्रो कामका कारण धनुषामा परियोजनाको कूल बजेटमा वृद्धि भएको छ ।

स्वदेशी पूँजी, प्रविधि तथा जनशक्तिको प्रयोग गरेर कृषिमा यान्त्रिकीकरण, विशिष्टीकरण गरेर कृषि उत्पादन बढाउने र विदेशबाट हुने गरेको आयातलाई विस्थापित गर्ने उद्देश्यका साथ लागु भएको परियोजनाको समग्र बजेटमा केही कमी आए पनि धनुषाको बजेटमा वृद्धि भएको छ ।
परियोजनाको कार्यान्वयन, समन्वय तथा अनुगमन समितिको आज जनकपुरधाममा भएको बैठकमा परियोजनाको कार्यान्वयन इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले धनुषामा गत वर्ष भन्दा बजेटमा थोरै वृद्धि भएको जानकारी दिनुभयो । कोरोना महामारीका कारणले परियोजनाको समग्र बजेटमा यस वर्ष केही कमी आएको बेलामा धनुषामा ८ करोड ६७ लाख १७ हजार रकम विनियोजन भएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।

विनियोजन भएको बजेट गत वर्ष भन्दा १ करोडले बढी भएको पनि बैठकमा जानकारी दिँदै विनियोजन भएको बजेट मध्ये कृषि उत्पादन बढाउने कार्यक्रम तर्फ ६ करोड ७ लाख ९६ हजार बजेट विनियोजन गरिएको छ । प्रशासनिक तथा कार्यक्रम खर्च निक्कै न्यून रहेको बताउँदै अधिकांश बजेट किसान तथा कृषि उत्पादन बढाउने कार्यक्रममा केन्द्रित भएको जानकारी दिइएको छ ।
यस वर्ष भारतबाट आउने मसिनो तथा वासनादार चावललाई विस्थापित गर्नका लागि राईससमल मोडल विकास कार्यक्रम ल्याएर किसानको धान मिलमा ल्याएर त्यस्तै प्रकारको चावल उत्पादनमा जोड दिने नीति परियोजनाले लिएको छ । धनुषामा माछाको उत्पादन अत्यधिक बढेका कारणले यसको मूल्य पनि घटेको जानकारी दिइएको छ ।
धनुषामा माछा सुपर जोन, धान तथा आँप जोन, प्रदेश सरकार मार्फत ब्लक विकास कार्यक्रम तथा प्रत्येक पालिकामा दुई वटासम्म पकेट विकास कार्यक्रम लागु भएको बताउँदै जिल्लामा माछा, धान, आँप, तरकारी, दलहन तेलहन तथा दूध गाई भैँसी क्षेत्रमा कार्यक्रम केन्द्रित रहेको जानकारी दिइएको छ ।
यसका साथै गत आर्थिक वर्षमा सम्पन्न भएको कार्यक्रमको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा भएको कार्यक्रमको विषयमा धनुषाका विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले जिज्ञासाहरू राख्नुभएको थियो । बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले परियोजनाको कार्यक्रम निक्कै राम्रो भएको बताउँदै यसबाट कृषि उत्पादनमा वृद्धि हुने आशा व्यक्त गर्नुभयो ।
बैठकमा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रदेश सरकारका कार्यालयका प्रतिनिधि, वन, उद्योग कार्यालयका प्रतिनिधि, धान तथा आँप जोन कार्यक्रमका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्