तपाईँ सुन्दै हुनुहुन्छः

‘युवाहरूमा नयाँ विषयको ज्ञान र सीपको विकास गर्न आवश्यक’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विश्व बजार तथा नेपालको आवश्यकता अनुसार युवाहरूमा नयाँ नयाँ विषयको ज्ञान र सीपको विकास गर्न आवश्यक भएको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सहित पाँच वटा संस्थाको आयोजनामा “श्रम बजार सूचना सम्बन्धी कार्यशाला”लाई जनकपुरधाममा सम्बोधन गर्दै उहाँले हाल विश्व बजारमा नेपालबाट सबैभन्दा बढी अदक्ष श्रम शक्ति गएका कारणले श्रमिकले कडा परिश्रम गर्दा पनि अपेक्षा अनुसारको पारिश्रमिक पाउन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले विश्व बजार तथा नेपालको आवश्यकता अनुसारको सीपसहित शिक्षा तथा प्रशिक्षण स्वदेशमा दिन आवश्यक रहेको बताउँदै सिटिईभिटीले पनि आफ्नो कार्यक्रममा परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले नेपालको कृषि क्षेत्रको विकासका लागि दक्ष कृषि प्राविधिकको अभाव भएको बताउँदै कृषि, उद्योग, पर्यटनको विकास विना देशको विकास सम्भव नभएको बताउनुभयो ।

उहाँले पढेलेखेका युवाहरूले स्वदेशमा राम्रो काम पनि गर्न नचाहने तर विदेशमा गएर निकृष्ट प्रकारको श्रम गर्न लाज नमान्ने सोच भएका कारण देशको विकासले गति नलिएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मुलुकको समृद्धि र विकासका लागि कृषि क्षेत्रको लगानीमा वृद्धि गर्न आवश्यक भएको बताउँदै विकसित मुलुकहरूमा कृषि क्षेत्रमा कूल बजेटको १५ प्रतिशत हुने गरेको बताउनुभयो ।

अध्यक्षको आसनबाट नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले नेपालको श्रम बजारमा ३२ लाखलाई यस क्षेत्रले रोजगारी दिए पनि त्यसमा १२ लाख विदेशी नै भएकाले त्यसलाई विस्थापित गर्नका लागि विभिन्न ४० क्षेत्रमा युवाहरूलाई सीप तथा ज्ञान दिन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button