भारतको दार्जिलिङमा नेपालका पर्यटकीय गन्तव्यहरूको चर्चा

भद्रपुर, झापा । भारतको दार्जिलिङमा नेपालका पर्यटकीय गन्तव्यहरूका बारेमा बृहत् चर्चा गरिएको छ ।
भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जिलिङमा पश्चिम बङ्गालस्थित इष्टर्न हिमालय ट्राभल एण्ड टु अपरेटर्स एशोसिएशन ( EHTTOA ) ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा नेपालका पर्यटकीय गन्तव्यहरूका बारेमा जानकारीमूलक चर्चा भएको हो ।
भारत, नेपाल र बङ्गलादेशका झण्डै दुई सय पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूका प्रतिनिधिहरुको सहभागितामा यही साता दुई दिनसम्म चलेको सम्मेलनमा नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, धनकुटा, गोरखा, पोखरा, काठमाडौँ, मनाङ–मुस्ताङ, हुम्ला, जुम्ला, मुगु, डोल्पालगायत नयाँ पर्यटकीय गन्तव्यहरूका बारे जानकारी गराइएको सम्मेलनमा सहभागी नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) प्रदेश नं १ का महासचिव नवीन खरेलले बताउनुभयो ।
नेपालका तर्फबाट नेपाल पर्यटन बोर्डका गोपाल भण्डारी र नाटा प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले प्रस्तुति दिनुभएको थियो ।
भारत तथा बङ्गलादेशका पर्यटन व्यवसायी र सरोकारवालाहरूले नेपालको प्रस्तुतिलाई चासोपूर्वक अवलोकन मात्र गरेनन् नेपालका पर्यटकीय गन्तव्यहरूका बारे उत्साहित हुँदै आफ्ना देशका नागरिकलाई सकेसम्म नेपाल घुम्न प्रोत्साहित गर्ने बताएका थिए ।
र्याफ्टिङ, बञ्जी, प्याराग्लाइडिङ, माउन्टेनिङजस्ता एड्भेन्चर र होमस्टेलाई प्राथमिकता दिइएको सम्मेलनमा नेपालमा त्यस्ता गन्तव्यहरू निकै रहेको प्रस्तुतिबाट थाहा पाएका सहभागीहरूले आफू पनि नेपाल घुम्न आउने र अरूलाई पनि घुम्न जान प्रेरित गर्ने बताएका थिए ।

इष्टर्न हिमालय ट्राभल एण्ड टु अपरेटर्स एशोसिएशनका अध्यक्ष देवासिस मैत्रको अध्यक्षतामा आयोजित समारोहका बीच सम्मेलनको उद्घाटन प्रमुख अतिथिका रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासक अनित थापाले गर्नुभएको थियो ।
उहाँले नेपाल, बग्लादेशसँँगको क्रस बोर्डर पर्यटनलाई विस्तार गर्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सधैँ तत्पर रहने बताउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्