‘ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी’ कार्यक्रमको थालनी
सुनसरी । वराहक्षेत्र नगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी’ कार्यक्रमको थालनी गरेको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण र परामर्श दिन थालेको हो ।

नगरपालिकाको १० औ नगर सभामा नगरपालिका वडा नं १ देखि वडा नं ११ मा रहेका ज्येष्ठ नागरिकहरूलाई ३ महिनामा १ पटक घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने निर्णयअनुसार उक्त निर्णयलाई आवश्यक कार्यविधि बनाएर मङ्गलवारबाट सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋदिब प्रकाश सिटौलाले बताए ।

कार्यक्रममा ११ वटा वडामा स्थानीय कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी खटिने स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक प्रमुख उमेश मेहताले बताए । मेहताका अनुसार ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण, परामर्श र सामान्य औषधी समेत दिनेछन् । ज्येष्ठ नागरिकहरू स्वास्थ्य परिक्षण क्रमशः सबै वडामा सञ्चालन हुनेछ ।
घरमै स्वास्थ्यकर्मी आएर परिक्षण गरिदिएकोमा खुसी लागेको वडा नं ८ सालवनीका ओमन शाहीले बताए ।
उमेरका हिसाबले समाजका अभिभावकहरूलाई सम्मान स्वरूप स्वास्थ्य परिक्षण कार्यक्रम ल्याइएको नगर प्रमुख रमेश कार्कीले बताए ।








प्रतिक्रिया राख्नुहोस्