मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँच सुरु
रुपन्देही । लामो समयदेखि विवादमा रहेको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँच सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट जग्गा नापजाँचको काम सुरु भएको हो । औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचानका लागि मङ्गलवारदेखि जग्गा नापजाँच सुरु भएको हो ।
जग्गा व्यवस्थापन कार्यदलका सदस्य सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ड्रोन प्रयोग गरेर जग्गा नापजाँच सुरु गरिएको बताउनुभयो । यहाँ कुन ठाउँदेखि कुन ठाउँसम्म र कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गरी त्यसैअनुसार प्रतिवेदन तयार गर्ने जिम्मेवारीअनुसार काम अघि बढाइएको सदस्य सचिव पन्थीले जानकारी दिनुभयो ।
कार्यदलले समन्वय गर्नुपर्ने कार्यालयसँग सहकार्य गरी काम थाल्ने र औद्योगिक क्षेत्रमा काम अगाडि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्ने पन्थीले बताउनुभयो । औद्योगिक क्षेत्रको वास्तविक जग्गाको अवस्था र आवश्यक जग्गाको खोजी गरी स्थानीयका समस्यालाई समेत समेटेर स्थानीयकै चाहनाअनुसार अघि बढ्ने गरी अध्ययन थाल्ने उहाँले बताउनुभयो ।
सर्वपक्षीय बैठकमा गृहमन्त्री खाँण, प्रदेश सभा सदस्य पुष्पा थरुनी, जिल्ला समन्वय समिति प्रमुख चापागाईँ, बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौला, मालपोत कार्यालय, नापी कार्यालयका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, उद्योगी व्यवसायी, सरोकारवाला सहभागी भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्