तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा २ महिना नपुग्दै ७३ जना डेंगुका बिरामी भेटिए 

टीकापुर, कैलाली । कैलालीमा २ महिना नपुग्दै ७३ जना डेंगुका बिरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्क अनुसार गएको साउन १ गतेदेखि भदौ २८ गतेसम्म कैलालीमा ७३ जना डेंगुका बिरामी भेटिएका हुन् । 

कैलालीका हरेक पालिकामा डेंगु फैलिसकेकाले सबैलाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ । अहिले डेंगु बढी फैलिने समय भएकाले सबै सरोकारवाला निकाय तथा नागरिकहरूलाई डेंगु नियन्त्रणमा जुट्न अपिल गरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । 

विशेषगरी कैलालीको लम्कीचुहा, टीकापुर, जानकी, जोशीपुर, भजनी, गोदावरी तथा धनगढी लगायतका पालिकामा डेंगुको संक्रमण बढी देखिएको प्रमुख धामीले बताउनु भयो । कुनै स्थानमा एक जना डेंगुका बिरामी भेटिएमा त्यो वरपर करिब १ हजार जनामा डेंगु फैलिसकेको हुन सक्ने भएका कारण नागरिकहरूले झनै सतर्कता अपनाउनु पर्ने प्रमुख धामीको भनाई छ । 

डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय कैलालीले स्थानीय पालिकालाई लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्न आग्रह गर्नुका साथै कीटनाशक औषधी पनि पालिका स्तरमा पुगाइसकेकाले अव लामखुट्टे मार्ने औषधी पनि छर्किने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।  

कैलालीमा गत वर्ष भन्दा यस वर्ष डेंगुका बिरामी बढेका र असारदेखि कार्तिक महिनासम्म डेंगुको प्रकोप देखिन सक्ने भएकाले आफ्नो घर वरिपरि तथा टोल छिमेकमा पानी जम्ने स्थान छन् भने त्यसलाई सफा राख्न पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । कैलालीमा चालु आर्थिक वर्षको अहिलेसम्म २ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि देशैभर डेंगु फैलिसकेकाले नागरिकहरूलाई लामखुट्टेको टोकाईबाट बच्न आफ्नो बस्ने घर वरिपरि सफा राख्न र शरीरका अङ्ग छोपिने गरी लुगा लगाउन आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button