तपाईँ सुन्दै हुनुहुन्छः

२० वर्षमा ३० प्रतिशत काम, कामलाई गति दिन ध्यानाकर्षण

फोटो : नेपाल पर्वतीय प्रतिष्ठान निर्माणमा गति दिन ध्यानाकर्षण गराउँदै वडा अध्यक्ष शेर्पा

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा विगत २० वर्षदेखि निर्माणाधीन नेपाल पर्वतीय प्रतिष्ठानको काम बल्ल करिब ३० प्रतिशत मात्र भएको छ । कछुवाको गतिमा काम भएपछि नवनिर्वाचित वडा अध्यक्ष सोनामग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

बजेट अभावमा वर्षौँदेखि निर्माण कार्यले गति लिन नसकेको तथा गुरुयोजना अनुसार समेत काम नभएकाले बजेट व्यवस्थापन गरी गुरुयोजना अनुरुप काम अघि बढाउन प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्रप्रसाद चौलागाईमार्फत मन्त्रालयलाई ध्यानाकर्षण गरिएको वडा अध्यक्ष सोनामग्याल्जेन शेर्पाले बताउनुभयो । 

अत्यन्तै सुस्त गतिमा भइरहेको कामलाई तीव्रता दिई पर्वतीय कलेज गार्मामा नै सञ्चालन गर्नुपर्ने, प्रतिष्ठान स्थापना पश्चात् प्रतिष्ठानसँग सम्बन्धित गतिविधिलाई सञ्चालन गर्न निर्माण भएको गुरुयोजना बमोजिम हालसम्मको भौतिक प्रगतिको अवस्था स्थानीय सरकार तथा आमजनताहरूलाई सुसूचित गर्नुपर्ने तथा गुरुयोजना बमोजिमको काम हुनुपर्ने माग गरिएको छ । 

निर्माणस्थल क्षेत्रको गतिविधिको निगरानी तथा स्थानीयको समस्यालाई सुनुवाई गर्न प्रतिष्ठानमा केन्द्रीय बोर्ड सदस्यमा स्थानीयको तर्फबाट समेत एकजना केन्द्रीय बोर्ड सदस्य अनिवार्य रहने नीतिगत व्यवस्था गर्न, प्रतिष्ठानले हाल नेले–सल्लेरी सडक खण्डको दक्षिणतर्फको क्षेत्र अव्यवहारिक तरिकाले अधिग्रहण गरेको नागरिकबाट गुनासो आएकाले सडकबाट उत्तरतर्फको क्षेत्र मात्रै अधिग्रहण गरी मुआब्जा वितरण गर्न तथा मुआब्जा दिन बाँकी रहेकाहरूलाई समेत तत्काल वितरण गर्न माग गरिएको छ । 

त्यस्तै, अव्यवहारिक ढङ्गबाट भएको अधिग्रहणका कारण कतिपय नागरिकहरू सुकुम्बासी हुने अवस्थामा पुगेकाले मागलाई गहन ढङ्गबाट लिँदै हाल काठमाडौँबाट सञ्चालित पर्वतारोहण कक्षा सोही स्थानबाट सञ्चालन गर्न माग गरिएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्रप्रसाद चौलागाईले स्थानीयको माग सम्बोधनका लागि आफु तयार रहेको बताउनुभयो । जसका लागि आफु काठमाडौँ फर्किए लगत्तै प्रक्रिया सुरु गरी कामलाई गति दिने आश्वासन दिनुभयो । 

दुई हजार नौ सय रोपनी क्षेत्रफलमा पिक्निक रिसोर्ट, बहुउद्देश्यीय हललगायतका भौतिक संरचना बनाउने योजना छ । पर्वतीय प्रतिष्ठानको ४७ वटा भवन निर्माण हुनुपर्नेमा हालसम्म सात वटा मात्रै भवन निर्माण भएको पर्वतीय प्रतिष्ठान सोलुखुम्बुका इन्जिनियर भक्तराज जोशीले बताउनुभयो । 

केन्द्र सरकार मातहतमा निर्माण भइरहेको प्रतिष्ठानका संरचना बजेट अभावमा निर्माणले गति लिन नसकेको प्राविधिकहरूको भनाइ छ । हालसम्म करिब २३ करोड रुपियाँको लागतमा प्रशासनिक भवन, छात्रावास भवन, कक्षाकोठा भवन, पुस्तकालय भवन, दुर्लभ यतिको प्रतिमा निर्माण गरिएको छ । प्रतिष्ठानको संरचना निर्माणका लागि वार्षिक दुई करोड रुपियाँ निकासा हुँदै आएको जनाइएको छ । 

भौतिक संरचनाले पूर्णता नपाउँदा पर्वतारोहण अध्ययन गर्ने विद्यार्थीका लागि समस्या भएको नेपाल माउण्टेन एकेडेमीका विद्यार्थी पासाङनुरु शेर्पाको भनाइ छ । सन् २००२ देखि सुरु गरिएको संरचना निर्माणले पूर्णता पाउन नसक्दा सो विषयका विद्यार्थीहरू काठमाडौँमा अध्ययन गर्न बाध्य भएको उनीहरूले बताएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button