तपाईँ सुन्दै हुनुहुन्छः

‘कागती आमा’को कृषि कर्म

तस्विरः मसली खड्का (कागती आमा) कागती बोक्रिगरेको पैसा गन्दै ।  

दोलखा । सदरमुकाम चरिकोटमा धेरैले ‘कागती आमा’ भनेर चिन्छन् मसली खड्कालाई । ६६ वर्षको उमेरमा पनि बोराभरी कागती बोकेर उत्तरी गाउँ गैरीमुदीबाट चरिकोटमा कागती बिक्रिगर्न आइरहने भएकोले उहाँलाई सबैले कागती आमा भनेका हुन् ।

१४ वर्षको उमेरमा बिहे गरेर २० वर्षको उमेरमा श्रीमानको घर आएदेखि खेती किसानी नगरेको कुनै दिन छैन– चरिकोटको एउटा पसलमा भेटिनु भएकी ‘कागती आमा’ (मसली खड्का) ले भन्नु भयो । 

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर – २ गैरीमुदीको मसली खड्का (कागती आमा) आफ्नै बारीमा फलाएर कागती, बदाम, सुन्तला, काँक्रा, मुला, भटमास, अलैँची, अम्लिसो आदी बिक्री गरेर राम्रै आम्दानी गरेको बताउनु हुन्छ । बेला– बेलामा खसी बोकासमेत बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।

४० वर्ष भन्दा बढी भयो मैले कृषि कर्ममा बिताएको मसली आमाले भन्नु भयो– उमेरमा त दोलखाको जिरी, मैनापोखरी, चरिकोट, छौडे लगायतका सबै हाट र बजारमा तरकारी तथा फलफूल बिक्री गर्न पुगे । उतीबेला सबै काम सकेर राती एकबजे तिर सुत्ने र बिहान तीनै बजे उठेर जिरी, छौडे, चरिकोट लगायतका हाटमा कृषि उत्पादन बिक्री गर्न पुग्ने गरेको मसली आमाले सुनाउनु भयो । बुढ्यौली उमेरका कारण अहिले भने चरिकोटमा कागती बिक्रीको लागि मात्र आउने गरेको उहाँले बताउनु भयो । 

गत वर्ष कागती मात्रै ३० हजार भन्दा बढीको बिक्री गरेको मसली आमाको भनाई छ । तरकारी तथा फलफूल र खसी– बोका बिक्रीबाट वर्षमा दुई लाख रुपैयाँ सजिलै कमाई हुने गरेको उहाँले बताउनु भयो ।

मेरा श्रीमान् (भीमबहादुर खड्का– ७०) अल्छी छन्, सोझा छन् । सबै घर व्यवहार मैले नै मिलाउनु पर्छ मसली आमाले भन्नु भयो– मेरै मेहनतले अहिले २०/२२ रोपनी जग्गा जोडेको छु, घर बनाएको छु, एक छोरा र दुई छोरीलाई पढाए– उहाँले भन्नु भयो । ‘म विवाह गरेर आउँदा सम्पत्तिको नाममा चार/ पाँच रोपनी जमिन थियो, गाउँका सबैले हेला गर्थे । अहिले घर छ, २५ रोपनी भन्दा बढी जमिन छ, सबैले माया र सम्मान पनि गर्छन्’ – उहाँले भन्नु भयो । 

तस्विरः मसली खड्का (कागती आमा) कागती बोक्रिगरेको पैसा गन्दै ।  

पढाई सकेर विवाह समेत गरी छोरा अहिले जापानमा गएको मसली आमाले सुनाउनु भयो । ‘छोरा जापानमा छ, आमालाई खर्च के कति चाहिन्छ भनेर सोधि रहन्छ तर मलाई आफ्नै मेहनतको कमाइले पुगेको छ’ – मसली आमाले भन्नु भयो । 

मेहेनत गरे माटोमा सुन फलाउन सकिने मसली आमाको भनाई छ । ‘मेहेनत गरेर आफ्नो घर व्यवहार राम्रो बनाउनु पर्छ नत्र सबैले हेला गर्छन्, मेहेनत गरे माटोमा सुन फलाउन सकिन्छ, सबैले सम्मान पनि गर्छन्’– मसली आमाले भन्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button