तनहुँमा पत्रकारको १० लाखको बीमा
तनहुँ । व्यास नगरपालिका कार्यालयले जिल्लामा कार्यरत सक्रिय पत्रकारका लागि रु १० लाख बराबरको दुर्घटना र स्वास्थ्य बीमा गरिदिने भएको छ । गत वर्षदेखि पत्रकारको बीमा सुरु गरेको नगरपालिकाले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिन लागेको हो ।
नगरपालिका कार्यालयले गत वर्ष जिल्लाभरिका ६५ जना पत्रकारको प्रतिपत्रकार रु १० लाखको बीमा गरिदिएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिनुभयो । नगरपालिका कार्यालयले रु नौ लाखको दुर्घटना र रु एक लाख बराबरको औषधि बीमा गरिदिएको उहाँले बताउनुभयो ।
व्यास नगरपालिका कार्यालयले जिल्लाका सञ्चारकर्मीहरूका लागि लोक कल्याणकारी विज्ञापन र स्वास्थ्य बीमा कार्यमा सहयोग गर्दै आएको छ । जिल्लाका अन्य पालिकाले पनि यस कार्यबाट पाठ सिक्नुपर्ने अवस्था आएको अध्यक्ष पौडेलले बताउनुभयो । नगरपालिकाले गरेको निर्णयप्रति अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सिफारिसका आधारमा यस वर्ष पनि क्रियाशील पत्रकारको बिमालाई निरन्तरता दिन लागिएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । रिपोर्टिङको सिलसिलामा यत्रतत्र कुदिरहने पत्रकारलाई सुरक्षा प्रदान गर्ने उद्देश्यअनुरूप नगरपालिकाले निर्णय गरी उक्त सुविधा प्रदान गर्न लागेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्