तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक विद्युतीय गाडीहरूको मेला आयोजना हुने

काठमाडौँ । नेपालमा पहिलो पटक विद्युतीय गाडीहरूको मेला आयोजना हुने भएको छ । आगामी असोज ६ देखि ९ गतेसम्म हुने मेलाका लागि अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।

file photo

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अटोमोबाइल्स डिलर्सं एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नाडा अटो शो गर्ने तयारी भइरहँदा सरकारले अटो आयातमा प्रतिबन्ध लगाए पनि विद्युतीय सवारी एक्स्पो गर्न लागिएको बताउनुभयो ।

नाडाका अनुसार असोज ५ गतेसम्म प्रि–बुकिङको व्यवस्था गरिएको छ । खल्ती एपबाट टिकट बुक गर्दा २० प्रतिशत सहुलियतमा पाइन्छ । नाडाका अनुसार विद्युतीय गाडीले १० प्रतिशत बजार हिस्सा ओगटिसकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने बताइएको छ । नाडा ईभी मेलामा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रुपैयाँ लाग्नेछ ।

नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा सेमिनार समेत आयोजना हुने नाडाले जनाएको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

वर्तमान समयमा विद्युतीय सवारी साधनको महत्त्व दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरूको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकहरूको छ । मेलामा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरू रहनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button