तपाईँ सुन्दै हुनुहुन्छः

बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

दार्चुला । दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बङ्गाबगड क्षेत्रको मानवबस्ती जोगाउन स्थानीय वासीसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले साथ दिनुभएको छ ।

शुक्रबार राति लास्कुखोलामा भएको कटानले बङ्गाबगड बस्ती विस्थापित हुन थालेपछि कटान रोक्नका लागि गर्न लागिएको तारजालीको काममा मन्त्री बडू स्वयं ढुङ्गा बोक्ने काममा सहभागी भई स्थानीयवासीलाई साथ दिनुभएको हो । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी पनि उक्त काममा सहभागी हुनुभएको छ ।

मन्त्री बडूसहित प्रदेशका आन्तरिक मामिलामन्त्री रणबहादुर रावल र उद्योग, पर्यटन वन वातावरणमन्त्री धामीसहितको टोली शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको थियो । प्रदेशका आन्तरिक मामिलामन्त्री रावल भने शनिबार साँझ कैलाली फर्किनुभएको छ ।

कटान रोकथामका लागि सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगर प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, विभिन्न दलका कार्यकर्ता, सुरक्षाकर्मी तथा स्थानीयवासीले बिहानैदेखि तारजाली लगाएर बङ्गाबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् ।

बस्ती जोगाउन ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक देखिएको मन्त्री बडूले बताउनुभयो । बङ्गाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको नकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीले बताउनुभयो ।

बेपत्ता १० अझै भेटिएनन्, खोजी कार्य जारी
शुक्रबार राति देखिको अविरल वर्षा र बाढी पहिरोसँगै बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने १० बेपत्ता छन् ।

महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको छ । उनीहरुलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको छ । राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडू, प्रदेश सरकारका मन्त्री धामी लगायतले पीडित परिवारलाई भेट्दै तत्काल राहतको व्यवस्था गर्ने बताउनुभएको छ । विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । अधिकांशले आफन्तको घरमा तथा जिल्ला समन्वय समितिको हलमा आश्रय लिइरहेका छन् ।

बाढीपहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन् । बाढि पहिरोमा परि ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति भएको छ भने ४० घर जोखिममा रहेका छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button