तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमाई नगरपालिकाका ११० भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण

सिराहा । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी परिवारलाई आज जग्गाधनी प्रमाण पुर्जा (लालपूर्जा) वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिराहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपूर्जा वितरण गर्नुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजार बढी भूमिहीनहरूलाई लालपूर्जा वितरण गरिएको छ । जसमा गाउँ ब्लक, पुनः नापी र विशेष नापीबाट ४९ हजार भन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत करिब एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्षभित्र भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने यही आर्थिक वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेकाले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितहरूका लागि सरकारले गरिरहेको लालपूर्जा वितरण कार्य नियमित काम भएकाले आचारसंहिता लाग्ने विषय होइन यसमा सबै स्पष्ट हुनु आवश्यक छ भन्नुभयो ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन सुरु भइसकेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button