तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पहिलो पटक पुस्तक समीक्षा प्रतियोगिता हुँदै

कास्की । पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ ।

सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आइतबार एक कार्यक्रम आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइयो ।

पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आबद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन चाहनेले ३१ भदौदेखि २८ असोजसम्म बुकमार्ट पोखरा प्रालि पुगेर नाम दर्ता गर्न सक्ने जनाइएको छ । विद्यालयको तर्फबाट प्रतिस्पर्धा गर्न चाहने विद्यार्थीले भने विद्यालयबाट सिफारिस पेस गर्नुपर्ने आयोजक बुकमार्ट प्रालिले जनाएको छ ।

प्रतियोगिता आयोजक टोलीले समीक्षा लेखनका लागि मापदण्ड तय गरिसकेको छ । लेखक/स्रष्टा, पुस्तकको शीर्षक, प्रकाशक, प्रकाशन वर्ष, कागजको स्तर मूल्य, पृष्ठ आदिबारे परिचयात्मक जानकारी दिएर पुस्तकमा प्रस्तुत विषयको सारांश र मूल विचार (साहित्यिक कृति भए विचार र भावनाको सन्तुलनसहित अन्य भावगत र कलागत सौन्दर्य मूल्यको प्रस्फुटन) राख्नुपर्ने मापदण्ड तय भएको छ ।

यस्तै समीक्षामा पुस्तकका सबल एवं दुर्बल पक्षको इमानदारिताका साथ प्रस्तुतीकरण, उपयोगिता, नयाँपन, मौलिक पक्ष र टिप्पणीसँगै भाषा र निष्कर्ष समेत लेख्नु पर्नेछ । कक्षा १२ माथिका विद्यार्थीले भने सन्दर्भ सूची समेत राख्नु पर्नेछ ।

कक्षा ८ सम्मका विद्यार्थीले ५ सय, ८–१२ कक्षाका विद्यार्थीले ८ सय, स्नातक तहका लागि १००० र स्नातकोत्तर तह एवम् खुला प्रतियोगिताका लागि १५०० शब्द सङ्ख्याको समीक्षा लेख्नुपर्ने आयोजक कमिटीका भुसालले बताए । २८ असोजसम्म समीक्षा बुझाउन आयोजकले समयसीमा तोकेको छ ।

प्रतियोगिताको पहिलो चरणमा कक्षा ५–१२ कक्षासम्म प्रत्येक कक्षाबाट उत्कृष्ट ३ र स्नातक, स्नातकोत्तर र खुला प्रतिस्पर्धाबाट उत्कृष्ट ५ छनोट गरिने जनाइएको छ । पहिलो चरणमा छनोट हुने समीक्षकलाई अन्तिम निर्णयका लागि समीक्षा वाचन गर्न लगाइने र सबै कक्षा तथा खुलाबाट सर्वोत्कृष्ट १/१ जना समीक्षक चयन गरिने आयोजकको भनाइ छ ।

अन्तिम चरणमा सर्वोत्कृष्ट हुने समीक्षकलाई जनही २० हजार रुपैयाँ बराबरको पुरस्कारले पुरस्कृत गरिने छ । उत्कृष्ट ३ मा पर्ने सबै प्रतियोगीलाई २ हजारसम्मका पुस्तक पनि दिइने जनाइएको छ ।

यस्तै बुकमार्ट प्रालिले पुस्तक प्रदर्शनी समेत गर्ने भएको छ । पुस्तक प्रदर्शनी विशेष छुट मेला ३१ भदौदेखि ४ कात्तिकसम्म चल्नेछ । बुकमार्ट पोखराका जुनसुकै पुस्तक खरिद गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बुकमार्टले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button