काठमाडौँ म्याराथनमा रिमाल पहिलो
काठमाडौँ । त्रिभुवन आर्मीका हरिकुमार रिमालले १४ औँ काठमाडौँ म्याराथनमा पहिलो स्थान हात पारेका छन् ।

उनले निर्धारित दूरी २ घण्टा ४० मिनेट र ४० सेकेन्डमा पूरा गरे । यससँगै हरिले एक लाख रुपैंया प्राप्त गरे । दौडमा आर्मीकै जुनेश खड्का दोस्रो र एपीएफका राजन चौधरी तेस्रो भए । जुनेशले २ घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरे र ५० हजार जिते । यस्तै राजनले भने दौड २ घण्टा ५५ मिनेट ४७ सेकेन्डमा सम्पन्न गरे र उनले २५ हजार रुपैंया पुरस्कार हात पारे ।
पुरुषतर्फको हाफ म्याराथनमा पर्वतका सुवास गुरुङ १ घण्टा १५ मिनेट र २१ सेकेन्डमा पहिलो, आर्मीका नवराज बुढा १ घण्टा २२ मिनेट र २२ सेकेन्डमा दोस्रो तथा आर्मीकै देवराज बस्नेत १ घण्टा २५ मिनेट र ४७ सेकेन्डमा तेस्रो भए । महिला हाफ म्याराथनमा पुलिसकी रेखा विष्ट १ घण्टा २६ मिनेट र ४० सेकेन्डमा पहिलो, धादिङकी लक्ष्मी थापा १ घण्टा ४६ मिनेट र ५८ सेकेन्ड तथा दोलखाकी तिलिमाया राउत २ घण्टा ५ मिनेट र ५६ सेकेन्डमा तेस्रो भए ।
यस विधामा पुरुष र महिला दुवैतर्फ पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया हात पारे । पुरुष ३ किलोमिटर दौडमा एपीएफका राजेन्द्र तामाङले ११ मिनेट १७.३७ सेकेन्डको समयमा पहिलो भए । यस्तै अभिषेक पञ्चकोटी ११ मिनेट ३४.३७ सेकेन्डमा दोस्रो तथा आर्मीका यमराज खत्री ११ मिनेट ४१.३७ सेकेन्डमा तेस्रो भए । महिलातर्फ दोलखाकी अन्जु खड्का १४ मिनेट ५.७ सेकेन्डमा पहिलो भइन् ।
स्कुल ब्वाइज ३ किलोमिटर दौडमा प्रवीण लिम्बू, होयगल लामा र अरबिन खत्री शीर्ष तीन स्थानमा रहे । गर्ल्सको यसै स्पर्धामा अन्युशा आचार्य पहिलो, भावना नाथ दोस्रो तथा प्रकृति बस्नेत तेस्रो भए । तीन किलामेटर मास्टर्स पुरुष दौडमा धर्म महर्जन, मनिन महर्जन दोस्रो तथा भीमबहादुर गुरुङ तेस्रो भए । महिलातर्फ यसै स्पर्धामा इमला प्रधान पहिलो भइन् । यस्तै ३ किलोमिटर ह्विलचियर दौडमा रामकाजी मिजार, दीपक श्रेष्ठ र अर्जुन डुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले म्याराथन दौडको उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्