तपाईँ सुन्दै हुनुहुन्छः

चतरा बजार क्षेत्रको अनुगमन

सुनसरी । बराहक्षेत्र नगरपालिकाले चतरा बजार क्षेत्रका केही व्यापारीहरूले खाद्यान्न सामग्रीको मूल्यवृद्धि गरेको सर्वसाधारणको गुनासो गरेपछि आज बजार क्षेत्रका केही पसलहरूमा अनुगमन गरेको छ ।

बजारमा चिनी, तेल, दा लगायत खाद्यान्नमा र अन्य सामानहरूमा केही व्यापारीले मनोमानी ढङ्गले बिक्री गर्ने गरेको जनगुनासो बढेपछि आज सो बजार क्षेत्रमा अनुगमन गरेको नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवारले जानकारी दिनुभयो  ।

अनुगमन क्रममा मिति गुज्रिएका खाद्य वस्तु अनुगमन टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ भने केही पसल तथा व्यवसायलाई जरिवाना समेत गरिएको  उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाले अर्को पटक अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

उपप्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा, प्रमुख प्रशासकीय अधिकृत सिटौला , नगरपालिकाको आर्थिक विकास शाखाका कर्मचारी, स्वास्थ्य शाखा कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण सुनसरीका कर्मचारी, उपभोक्ता मञ्चका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button