तपाईँ सुन्दै हुनुहुन्छः

प्लाष्टिक टनेल र तरकारीको बिउ पाएपछि महिला उत्साहित

सोलुखुम्बु । बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल र विभिन्न तरकारीका बिउ पाएपछि यहाँका महिला तरकारी उत्पादनमा निकै उत्साहित देखिएका छन् ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ, बाघखोरकी कृषक दाली शेर्पाले भन्नुभयो । यसले तरकारीमा आत्मनिर्भर बनाउनुका साथै आयआर्जनमा समेत सहयोग पुगेको छ ।

सोलुखुम्बुको शिक्षा, स्वास्थ्य तथा महिला सशक्तीकरणका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको ‘द स्मल वर्ल्ड’ संस्थाले यस क्षेत्रका महिलाहरूलाई ‘आशाको बिउ’ कृषि कार्यक्रम अन्तरगत प्लाष्टिक टनेल, विभिन्न थरिका तरकारीको बिउ वितरण तथा प्लाष्टिकको टनेल बनाउने सीप सिकाएपछि महिलाहरूले अब जुनसुकै समयमा पनि तरकारी फलाउन सक्ने बताएका छन् । 

बाघखोरमा केरुङका ३० महिलालाई आठ प्रकारका तरकारीको बिउ वितरण गरिएको र यसअघि वितरण गरिएको टनेल निर्माण गर्ने तरिका समेत सिकाएको संस्थाकी कार्यक्रम संयोजक गोमा बस्नेतले जानकारी दिनुभयो । सामग्री तथा सीप पाएपछि महिलाहरू धरै खुशी भएको उहाँले बताउनुभयो ।

कृषि प्राविधिकसहित कृषकहरूलाई सहयोग गरिरहेको संस्थाले तरकारीमा आत्मनिर्भरताका साथै महिलालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले ‘आशाको बिउ’ नाम कार्यक्रम सञ्चालन गरिएको टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो । समाजमा महिलाहरूलाई हरेका क्षेत्रमा अघि बढाउन सके विकासमा फड्को मार्न सकिने उहाँको भनाई छ  ।

यसअघि जिल्लाको सल्लेरी, तिङला, तामाखानी लगायत विभिन्न क्षेत्रमा आशाको बिउ कार्यक्रममार्फत कृषकहरूलाई टनेल तथा तरकारीको बिउ र कृषि प्राविधिक समेत सहयोग गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । 

कोरोनाको समयमा घरमै बसेर तरकारी उत्पादनमा प्रोत्साहन गर्नका लागि यो कार्यक्रम ल्याइएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button