सैन्य भवनमा भएको आगजनी विफल भएको रूसको दाबी
सेन्ट पिटर्सबर्ग। रूसको संघीय सुरक्षा सेवा (एफएसबी)ले सेन्ट पिटर्सबर्ग नजिकैको सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको र घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
गत फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा सैन्य अभियान सुरु गरेयता सैन्य भवनमा आक्रमण बढेको छ ।
सेन्ट पिटर्सबर्गबाट करिब १४० किलोमिटर उत्तरमा पर्ने भाइबोर्ग सहरका तीन जना बासिन्दाले रक्षा मन्त्रालयको प्रशासनिक भवनमा आगजनीको प्रयास गरेको एफएसबीले जनाएको छ ।
‘आतङ्ककारी आक्रमणको प्रयास’ भएको विषयमा अनुसन्धान सुरु गरिएको छ । घटनामा दोषी ठहरिएमा उनीहरूलाई लामो जेल सजायको हुनसक्ने बताइएको छ ।
रूसी सञ्चारमाध्यमले फेब्रुअरीको अन्त्यदेखि दर्जनौं भवनलाई पेट्रोल बम (मोलोटोभ ककटेल)ले निशाना बनाइएको वा तोडफोड गरिएका घटनाहरू सार्वजनिक गरेका छन् ।
रूसी सरकारी सञ्चार माध्यममा प्रशारण नभएका यी घटनाहरूले प्रायः नयाँ सैनिकहरूको भर्ती र सम्भावित भर्तीहरूको सूची व्यवस्थापन गर्ने सैन्य परिसरहरूलाई लक्षित गर्ने गरेको बताइएको छ ।
मस्कोले युक्रेनमा आफ्नो सैन्य अपरेसनको कुनै पनि आलोचनालाई रूसमा कडा सजाय दिन्छ । स्वतन्त्र रूसी निगरानी समूह ओभीडी–इन्फोले १६ हजारभन्दा बढीलाई हिरासतमा लिएको जनाएको छ ।
रूसी अधिकारीहरूले सेनालाई ‘बदनाम’ गरेको आरोप लागेका व्यक्तिहरूलाई पनि भारी जरिवाना तिराएका छन् ।
ओभीडी–इन्फोका अनुसार रूसी सेना बारेमा ‘भ्रामक समाचार फैलाउने’ लगायत सैन्य अभियानको निन्दा गरेको आरोपमा २३० जनाभन्दा बढी व्यक्तिविरुद्ध फौजदारी मुद्दा दायर गरिएको छ ।एएफपी








प्रतिक्रिया राख्नुहोस्