संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा: पूर्व राष्ट्रपति
काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताउनुभएको छ ।

जननायक बिपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रस्टले आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उहाँले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
पूर्व राष्ट्रपति डा यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताउनुभयो । उहाँले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाझ लैजान जननायक बिपी कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । नेता प्रधानले बिपी कोइरालाको योगदानका कारण देश सङ्घीय गणतन्त्र मुलुकमा निर्माण भएको बताउनुभयो ।
विभिन्न विधामा पुरस्कार तथा सम्मान
नेपाली कांग्रेस काठमाडौँका पूर्व पार्टी सभापति एवं पूर्वराज्यमन्त्री तीर्थराम डङ्गोल र उहाँको धर्मपत्नी तेजमाया डङ्गोल नाममा स्थापित तेज–तीर्थ ट्रस्टले सामाजिक र पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको छ ।

ट्रस्टले स्वतन्त्रता तथा शान्तिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहाललाई रु एक लाख नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

रासस








प्रतिक्रिया राख्नुहोस्