‘गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको छ’
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको १०९ औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरूप चलेको स्पष्ट पार्नुभयो ।
बिपीले देखाएको मार्गलाई काँग्रेसले अवलम्बन गर्दै अघि बढेको छ । उहाँले भन्नुभयो, “यदि सिद्धान्त विपरीत हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैनथ्यो ।”
उहाँले देशमा सङ्कट पर्दा काँग्रेसले निकास र बाटो देखाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गर्नुभयो ।
अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रतिनिधि सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति वैकुण्ठ न्यौपाने लगायतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्