बयालपाटा अस्पतालको व्यवस्थापनका लागि कार्यविधि बनाएर अघि बढ्ने : मन्त्री डा.रावल

अछाम । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रण बहादुर रावलले यस क्षेत्रका अस्पतालको दिगोपनाका लागि प्रदेश सरकार गम्भीर हुने बताउनुभएको छ ।
पार्टी कामको शिलशिलामा अछाममा रहनुभएका मन्त्री डा.रावलले स्वास्थ्य जनताको मौलिक हक भएको भन्दै सबै अस्पताललाई सुविधा सम्पन्न बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
जिल्लाको साँफेबगर ७ मा रहेको बयालपाटा अस्पतालको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत रूपमै कार्यविधि बनाएर अघि बढ्नुपर्नेमा समेत उहाँको जोड छ ।

पोसिबल हेल्थ नामक अमेरिकी गैरसरकारी संस्थाले नेपाल सरकारसँग साझेदारी गर्दै निःशुल्क रूपमै विशेषज्ञ सेवा समेत प्रदान गरिरहेको अस्पताल अहिले विदेशी सहयोग कटौती भएपछि आर्थिक समस्यामा परेको छ ।
अस्पतालको निरीक्षण तथा अवलोकन गर्दै मन्त्री रावलले बयालपाटा अस्पताल देशकै एक मात्र नमुना मोडल भएको भन्दै यसलाई दीर्घकालीन रुपमा सञ्चालनका लागि आफूले प्रदेश र संघीय सरकारमा गम्भीरताका साथ काम गर्ने बताउनुभयो ।
बयालपाटा अस्पताल अछाम जिल्लाको लागि मात्र नभई सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताका लागि समेत सेवाको केन्द्र बिन्दु भएको भन्दै उहाँले यसको व्यवस्थापन गर्नतर्फ आफूले पहल गर्ने बताउनुभयो ।
प्रदेश संसदीय दलको नेता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. रावलले अस्पतालको विषयमा गम्भीर भएको दाबी गर्नुभयो ।
अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले उपचार गर्नुपर्ने डाक्टर अस्पतालका लागि पैसा माग्न प्रदेश र पालिका धाई राख्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “डाक्टरले बिरामीको उपचार गर्ने कि प्रदेश धाउने ? तसर्थ यस क्षेत्रका जनप्रतिनिधि, नेता र प्रदेशका मन्त्रीले अस्पतालको दीर्घकालीन व्यवस्थापनका लागि कार्यविधि बनाएर वार्षिक रुपमा बजेट विनियोजितका लाग पहल गर्नुपर्छ ।”
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत रही मन्त्रालय सँगको सम्झौतामा सञ्चालनमा रहेको बयालपाटा अस्पताल देश संघीय संरचनामा सुदूरपश्चिम प्रदेश सरकार मातहत हुनुपर्ने भएपनि हाल सम्म सम्झौता हुन सकेको छैन ।
५० देखि २ सय बेडको अस्पताल प्रदेश मातहत रहनुपर्ने कार्यविधि भएपनि प्रदेश सरकारलाई संघीय सरकारले पत्र लेखेको दुई बर्ष भई सक्दा पनि प्रदेश सरकारसँग सम्झौता हुन सकेको छैन । प्रदेश सरकारले ५० प्रतिशत आर्थिक दायित्वसहित सम्झौता गर्नुपर्ने जिल्लाका सरोकारवालाको माग छ ।
अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले अस्पताललले दिइरहेको सेवा तथा वर्तमान अवस्थाका बारेमा मन्त्री डा.रणबहादुर रावललाई जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्