तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा पनि भेटिन थाले डेंगुका बिरामी 

सल्यान । सल्यानमा पनि डेंगुका बिरामी भेटिन थालेका छन् । 

अस्पतालमा उपचार गराउन आएका बिरामी मध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन ।

पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढी रहेको समयमा डेंगुका बिरामी पनि देखिन थालेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ । 

दैनिक अस्पतालमा दुई सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा हालसम्म ४ जनामा डेंगुका बिरामी फेला परेको सल्यान जिल्ला अस्पतालका डा.अभिषेक सिंहले जानकारी दिनुभयो । 

“अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी आउने गरेका छन् ।”, उहाँले भन्नुभयो, “एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, र कमजोरी हुने डेंगुका मुख्य लक्षण हुन ।”

लामखुट्टेको टोकाईबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझको समयमा बाहिर ननिस्कने, शरीर ढाक्ने लुगा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्न डा. सिंहले बताउनुभयो । 

झोलिलो र तागतिलो खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् । 

जिल्लामा डेंगुका बिरामी भेटिन थालेपछि सचेतना कार्यक्रम तथा रोकथामका लागि पहल गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button