प्रदेश नं. १ साक्षर प्रदेश घोषणा

विराटनगर । प्रदेश नं १ साक्षर प्रदेश घोषणा भएको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।
युनेस्कोले तोकेको विभिन्न १२ वटा मापदण्डका आधारमा सो प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
सभामुख भण्डारीले साक्षर प्रदेश घोषणा गर्नुहुँदै अब प्रदेशलाई आर्थिक समृद्धिको प्रदेश बनाउने अभियानमा सबैले आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार साक्षर प्रदेश घोषणा गर्न सफल भएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले साक्षर प्रदेशको घोषणा सबैका लागि गौरवको विषय भएको उल्लेख गर्नुहुँदै समृद्धिका लागि व्यावसायिक तथा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो ।
प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले अबको शिक्षा जागिर खानका लागि मात्र नभई व्यवहारिक हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, प्रदेशका सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्वाहाम्फेले सबैको सहयोगबाट मात्रै प्रदेशलाई साक्षर घोषणा गर्न सकिएको बताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, तथा सामाजिक विकास समितिका सभापति सरिता थापा खडकाले गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिनुभयो ।
साक्षर प्रदेश घोषणा समारोह अघि प्रभातफेरीको समेत आयोजना गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्