तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा धमाधम पक्राउ पर्दै फरार अभियुक्त

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । 

पछिल्लो एक महिनाभित्र जघन्य आपराधिक मुद्दामा फरारसहित लागुऔषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो ।

गत साउनदेखि भदौ २३ सम्ममा सिन्धुपाल्चोकमा आत्महत्या सम्बन्धी ६, सामाजिक अपराधमा ३, महिला तथा बालबालिका सम्बन्धी ३, सङ्गठित तथा आर्थिक अपराध सम्बन्धी १ र ज्यान सम्बन्धी ३ गरि जम्मा १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्कमा उल्लेख छ । 

१६ वटा मुद्दा दर्ता भएकोमा ८ जनालाई पक्राउ गरिएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा कुटपिट अङ्गभङ्गमा १,बहुविवाह ३,मानव बेचबिखन तथा ओसारपसार १, सार्वजनिक अपराध १,नकबजनी चोरी १ र बैङ्किङ कसूरमा १ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

फरार ८ जना अपराधीहरूबाट कैद १३ वर्ष ३ महिना २८ दिन र जरिवाना रु ४८ हजार ३५० असुल गरिएको छ ।

ट्राफिक नियम उलङ्घन तर्फ सिन्धुपाल्चोकमा साउन र भदौमा गरि १ हजार ५६० वटा सवारी चालक कारबाहीमा परेका छन् । जसबाट १४ लाख ६७ हजार ५ सय राजस्व सङ्कलन भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

यस अवधिमा चोरीका ५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको , अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ ९० के.जि.मर्चा नष्ट गरिएको प्रहरीको विवरणमा उल्लेख छ । 

त्यस्तै गैर कानुनी रुपमा अवैध उत्खनन् तथा दोहन गर्ने ८ वटा सवारीलाई कारबाही गरी रु ३ लाख ९० हजार राजस्व सङ्कलन गरिएको छ । प्राकृतिक रुपमा आफै उम्रेका  ४३ कठ्ठा जग्गाको ८ हजार ८सय २५ गाँजाका बोटहरू समेत नष्ट गरिएको केसीले जानकारी दिनुभयो ।

सूचना अधिकारी प्रहरी निरीक्षक केसीले कानूनविपरीत हुने गरेका अवैध कार्यलाई तदारुकताका साथ रोकी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । 

उहाँका अनुसार कार्य योजनाअन्तर्गत हरेक नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने, आपराधिक क्रियाकलाप उपर कानूनी कारबाही गर्ने, खुला सीमानाकाबाट हुने सीमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धानमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिनेलगायतका कार्ययोजना रहेका छन् । 

चार्ड पर्व नजिकिएका कारण चोरी निकासि तथा दुर्घटनाका घटनाहरू बढ्ने भएकाले विशेष चासोका साथ निगरानी बढाइएको केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button