तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा अध्यक्ष लिङदेन झापा ३ बाट उम्मेदवार सिफारिस

भद्रपुर, झापा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–२ गोलधाप घर भएका राप्रपा अध्यक्ष लिङ्देनले चौथो पटक झापा ३ बाट उम्मेदवारी दिन लाग्नुभएको हो । 

२०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट लिङ्देन पहिलो पटक उम्मेदवार बन्नुभएको थियो  । 

उहाँ त्यसबेला तेस्रो हुनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उहाँले उम्मेदवारी दिनुभएन । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पुनः राप्रपाबाट उम्मेदवारी दिनुभएका लिङ्देन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुनुभयो । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवारी दिनुभएका लिङ्देन कांग्रेस नेता सिटौलालाई पराजित गर्दै पहिलोपटक संसद्मा पुग्न सफल हुनुभयो । २०७४ सालको निर्वाचनमा झापामा राप्रपाले बाम गठबन्धनसँग चुनावी तालमेल गरेको थियो ।

योसँगै राप्रपाले झापा ५ बाहेक चार वटै क्षेत्रमा उम्मेदवार सिफारिस टुङ्ग्याएको छ ।प्रतिनिधिसभातर्फ झापा १ मा रमेश दाहाल र पुष्कर खतिवडाको नाम सिफारिस भएको छ भने २ मा भक्ति सिटौला, बसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस भएको छ । 

त्यस्तै, झापा क्षेत्र नं ४ मा खुश्वु ओलीको एकल नाम सिफारिस भएको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो । राप्रपाले प्रदेशसभा र समानुपातिकतर्फका उम्मेदवारहरूको पनि नाम सिफारिस गरिसकेको अध्यक्ष ओझाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button