राज्यले लगानी गरेका सञ्चारमाध्यमहरू सक्षम, प्रतिस्पर्धी र अग्रणी हुनुपर्दछ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले राज्यले लगानी गरेका सञ्चारमाध्यमहरू सक्षम, प्रतिस्पर्धी र अग्रणी सावित हुन सक्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा आज आयोजित नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको तेस्रो महाधिवेशन उद्घाटन समारोहमा मन्त्री भुसालले रेडियो नेपाललाई सही सूचना सम्प्रेषण गर्ने राष्ट्रको सञ्चारमाध्यम बनाउनुपर्ने बताउनुभयो ।

ऊर्जा मन्त्री भुसालले रेडियो नेपाल भन्नासाथ आफूलाई गर्वबोध हुने गरेको भन्दै यसको सुदृढीकरण, स्रोत संरक्षण र सदुपयोगमा राज्यको ध्यान पुग्न जरुरी रहेको धारणा राख्नुभयो ।
उहाँले आसन्न निर्वाचन जस्ता महत्त्वपूर्ण अभियानमा रेडियो नेपालको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट समेत पार्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले रेडियो नेपालजस्ता संस्थाको प्रभावकारिता बढाउन संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले ट्रेड युनियन र व्यवस्थापनको समस्या जहिले पनि साझा समस्याका रुपमा हुने भन्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका महासचिव प्रेम खनालले संस्था बलियो नभएसम्म ट्रेड युनियन बलियो नहुने भन्दै सहकार्य र मैत्रीपूर्ण सम्बन्ध स्थापित गरेर सामूहिक ढङ्गबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाहीले राष्ट्रको सञ्चारलाई निजीकरण हैन प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो ।
अध्यक्ष शाहीले ऐतिहासिक महत्त्व बोकेको रेडियो नेपाल जस्ता संस्थाको संरक्षण, विकास र सुदृढीकरणमा राज्य मूकदर्शक बन्न नहुने धारणा समेत राख्नुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आर्थिक सुनिश्चितताको बाटो सधैँ कमजोर रहेपनि राज्यको लक्ष्य पूरा गर्न रेडियो नेपाल अहोरात्र लागि परिरहेको बताउनुभयो ।
कार्यकारी निर्देशक केसीले मुलुक सङ्घीयतामा गएपछि दरबन्दी संरचना पुरानै हुँदा सात प्रदेशमा रहेका प्रदेश कार्यालय, विभिन्न प्रसारण केन्द्र र २७ वटा एमएम स्टेसनहरू सञ्चालन गरिरहेको धारणा राख्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकीले रेडियो नेपालले राम्रो कार्यदक्षता प्रदर्शन गर्न यसको संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो ।

रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेत नारायण पौडेलले पञ्चायती कालको गठन आदेशका भरमा अहिले पनि रेडियो नेपाल चलिरहेको भन्दै मुलुकमा आएको परिवर्तनसँगै यसको संरचनागत सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालका अध्यक्ष राजेश श्रेष्ठले संस्थाको विकास र सुदृढीकरणमा सङ्गठन दृढ रहेको भन्दै यहाँ कार्यरत कर्मचारीको वृत्ति विकास र मनोबल बढाउने कार्य पनि सँगसँगै आउने बताउनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको तेस्रो महाधिवेशनले सङ्गठनको नयाँ केन्द्रिय समिति र पदाधिकारीको आजै चयन गर्नेछ ।









प्रतिक्रिया राख्नुहोस्