१ सय ८० जनाभन्दा बढीलाई प्राथमिक उपचार सम्बन्धी तालिम

सोलुखुम्बु । शेर्पा बालबालिका सहायता सङ्घले सोलुखुम्बुका १ सय ८० जनाभन्दा बढीलाई प्राथमिक उपचार सम्बन्धीको तालिम (पीपीआर) प्रदान गरेको छ ।
सङ्घले विभिन्न समयमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र प्रहरीलाई गरी १ सय ८० जनालाई उक्त तालिम प्रदान गरेको अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार थुलुङदूधकोशी गाउँपालिकाको नेले क्षेत्रका माध्यामिक विद्यालयका एक सय जना शिक्षक र विद्यार्थी, १५ जना प्रहरी र स्वास्थ्यकर्मी तथा सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरीमा ५० जना प्रहरी र १५ जना स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।
उनीहरुलाई ग्रान्डी इन्टरनेशनल अस्पताल काठमाडौँको सहयोगमा व्यक्ति बेहोस भई मुटुको धड्कन नचलेको अवस्थामा कसरी बचाउन सकिन्छ, लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
प्राथमिक उपचारको सहयोगमा तीन चौथाइ आकस्मिक दुर्घटना वा बिरामीको अवस्थामा जीवन रक्षामा उल्लेख्य योगदान गर्न सकिन्छ भन्ने अध्ययनहरूले देखाएका छन् ।
प्राथमिक उपचारको तालिमलाई जनस्वास्थ्यको कार्यक्रमको रूपमा सञ्चालन गरेका एसियाका देशहरूको अध्ययनअनुसार सडक दुर्घटनामा परेका गम्भीर घाइतेमध्ये करिब ४० प्रतिशतलाई घटनास्थलमा उपस्थित व्यक्तिहरूले नै प्राथमिक उपचार उपलब्ध गराएका थिए ।








प्रतिक्रिया राख्नुहोस्