तपाईँ सुन्दै हुनुहुन्छः

चालू पूँजी मार्गदर्शन-२०७९ परिमार्जन गर्न माग

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य सङ्घले नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गदर्शन २०७९ परिमार्जन गर्न माग गरेको छ । 

नेपाल राष्ट्र बैङ्कको सुर्खेत कार्यालयमार्फत गभर्नरलाई बुधबार (आज) विरोध पत्र बुझाउँदै सङ्घले भदौ ७ गते जारी भएको चालू पूँजी मार्गदर्शनले उद्यम व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै परिमार्जन गर्न माग गरेको हो । 

चरम आर्थिक सङ्कटका बेला निजी क्षेत्रलाई अनुदानका साथै प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्नेमा झनै कमजोर र धराशायी बनाउने गरी कर्जा प्रवाहमा सङ्कुचन गरी उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा निर्धारणमा फरक गर्ने गरी राखिएका विभेदकारी प्रावधानमा राखिएको भन्दै असन्तुष्टि जनाएको छ । 

महाभूकम्पदेखि कोभिड काल हुँदै पछिल्लो समय रुस युक्रेन युद्धका कारण खलबलिएको अर्थतन्त्रलाई सम्हाल्नका लागि निजी क्षेत्रलाई थप सबल बनाउन उद्योगको प्रकृतिअनुसार फरक चालु पुँजी रकम आवश्यक पर्ने हुँदा दुई करोडभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्र गरिनु व्यवहारिक नहुने सङ्घको भनाइ छ ।

पछिल्लो आर्थिक सङ्कटका कारण टाट पल्टिने अवस्थामा पुग्न लागेको अवस्थामा २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालनमा मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पार्ने चिन्ताको विषय भएको भन्दै परिमार्जन गर्न आग्रह गरिएको हो । 

यसैगरी अधिविकर्ष (ओभर ड्राफ्ट) कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जालगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरू प्रति व्यक्ति ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सकिने र घरजग्गा धितो राखी कर्जा प्रवाह गर्दा ४० प्रतिशत मूल्यसम्म हुने गरि मात्र कर्जा दिने प्रावधानले जिल्लागत व्यवसाय निरुत्साहित मात्र नभई बन्द गर्नुपर्ने अवस्था निम्तिने सङ्घले जनाएको छ  । 

अध्यक्ष लक्ष्मण कँडेलको नेतृत्वमा निवर्तमान अध्यक्ष धनबहादुर रावत, महासचिव भद्र भण्डारी सहितको टोलीले विरोध पत्र बुझाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button