तपाईँ सुन्दै हुनुहुन्छः

१० करोडको विदेशी चुरोट जलाइयो

वीरगञ्ज । नेपालमा विक्री गर्न प्रतिबन्धित झण्डै १० करोड भन्दा बढीको विदेशी चुरोट सुख्खा बन्दरगाह कार्यालयले जलाएर नष्ट गरेको छ ।

गत असार १३ गते दुबईबाट मुङको दाल बोकेर आएको कन्टेनरबाट बरामद भएको ४ सय कार्टुनमा रहेको ५८ लाख ३८ हजार ४ सय खिल्ली चुरोट जलाइएको हो ।

काठमाडौँ टोखास्थित कालिका इन्टरप्राइजेजले आयात गरेको उक्त कन्टेनर जाँचपासका लागि भन्सार प्रज्ञापन पत्रमा मुङ दाल घोषणा गरेको थियो ।

कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडिपट्टि कन्टेनरबाट गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट करिब ४ सय कार्टुनमा राखिएको फेला परेको थियो ।

त्यसबेला मुचुल्का उठाएर तत्काल कन्टेनर सिल गरिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानले नेपालको कानुनअनुसार बिक्री गर्न नमिल्ने भएकाले विदेशी चुरोट नष्ट गरिएको बताउनुभयो ।

भन्सार कार्यालयका कर्मचारी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सशस्त्र प्रहरीको रोहवरमा चुरोट नष्ट गरिएको हो । आयातकर्तालाई भन्सार कार्यालयले पत्राचार गरे पनि हालसम्म सम्पर्कविहीन रहेका छन् ।

उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिएको न्यौपानेले जनाउनुभयो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपासका लागि प्रज्ञापन पत्रको विवरण भर्ने भन्सार एजेन्टको लाइसेन्स ब्लक गरेको छ ।

आयातकर्तामाथि १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरिएको छ । एउटा सामान भनेर अर्को सामान बोक्ने सिपिङ कम्पनीलाई कन्टेनरको मूल्य बराबर जरिवाना गरिएको सूचना अधिकृत न्यौपानेले जानकारी दिनुभयो । यसैगरी भन्सार कार्यालयले आयातकर्ताको एक्जिम कोड समेत ब्लक गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button