निजामती सेवा दिवसको अवसरमा विराटनगरमा वृक्षारोपण तथा सरसफाई
विराटनगर । निजामती सेवा दिवसको अवसर आज बिहान विराटनगरमा वृक्षारोपण तथा सरसफाई गरिएको छ । विराटनगर–इटहरी सिक्सलेन सडक अन्तर्गतको मुख्यमन्त्री कार्यालयदेखि रोडशेष चोकसम्मको सडकको वृक्षारोपण गरिएको हो ।
सडकको बीच लेनमा ओलेएरी, म्यांगोस्टेन तथा कपुर लगायत विभिन्न जातका अढार्इ सय बिरुवा वृक्षारोपण गरिएको हो ।
उक्त सडकमा प्रदेश नं. १ का प्रमुख सचिव विनोद प्रकाश सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल लगायत सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूले वृक्षारोपण गर्नु भएको थियो ।
यसैगरी दिवसको अवसरमा सरकारी कार्यालय तथा चोक तथा सडकहरूमा सरसफाइ समेत गरिएको छ ।
सरसफाइ तथा वृक्षारोपण शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै प्रमुख सचिव सिंहले कर्मचारीको हकहित तथा सेवा प्रभालाई प्रभावकारी बनाउने निजामती सेवा ऐन चाडै आउनुपर्नेमा जोड दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले कर्मचारीहरूले सेवाग्राहीको मन जित्नेगरि छिटो छरितो एवं पारदर्शी रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष फणिन्द्र अधिकारीले निजामती सेवा ऐन तत्काल पास गराउन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आयोजनामा कार्यक्रम भएको हो ।








प्रतिक्रिया राख्नुहोस्