तपाईँ सुन्दै हुनुहुन्छः

टुहुरा बालकको साहारा बन्यो साझा घर नेपाल

सल्यान । आमाबुवाको मृत्यु भएपछि टुहुरा बनेका सल्यानका दुई बालकको साझा घर नेपाल सुर्खेत अभिभावक बनेको छ ।

आमाबुवा गुमाएका बेसहारा सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराका दुई दाजुभाइलाई अविभावकत्व प्रदान गर्दै साझा घर नेपाल अविभावक बनेको हो ।

तीन वर्षअघि बुवाको क्यान्सरबाट र केही महिनाअघि मात्र आमाको मृत्यु भएपछि टुहुरा भएका १५ वर्षीय दीपक र ४ वर्षीय दिपेश विकलाई बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले साझा घर नेपालका प्रमुखलाई जिम्मा लगाउनुभएको हो ।

आमाबुवाको मृत्यु भएपछि उनीहरू विवाह भएकी दिदीको घरमा बस्दै आएका थिए । १५ वर्षीय दीपक मुक्ति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए तर आमाको मृत्यु भएपछि उनको पढाई समेत छुटेको थियो ।

अब दुई बालक साझा घर नेपाल सुर्खेतको परिवारसँगै हुर्कने र लालन पालनका साथै अध्ययन गर्ने साझा घर नेपालका अध्यक्ष भीम बहादुर विश्वकर्माले जानकारी दिनुभयो । संस्थाले हाल ५९ असहाय, टुहुरा बालबालिकालाई साहारा दिँदै आइरहेको उहाँले बताउनुभयो ।

समाजका बेसहारा बालबालिकाको अविभावकत्व ग्रहण गरी राज्यको जिम्मेवारीभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्दै जनस्तरबाट सञ्चालित संस्थाको निरन्तरताका लागि मूल्याकंनको आधारमा सरकारी स्तरबाट समेत उचित सहयोग हुनुपर्ने विश्वकर्माको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button